|  

बागमती प्रदेशसभाको बैठक आगामी आइतबार बस्ने

३१ भदौ, काठमाडौं । बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने तय भएको छ ।

बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो । प्रदेशसभा बैठकमा प्रदेशसभा अन्तर्गतका विभिन्न संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन । समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।