|  

राष्ट्रियसभाबाट १२ विधेयक पारित 

३१ भदौ, काठमाडौं । राष्ट्रियसभाको १६ औं अधिवेशनबाट १२ वटा विधेयक पारित भएको छ ।

आज १६ औं अधिवेशन अन्त्य गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस अधिवेशनबाट १२ वटा विधेयक पारित भएको जानकारी दिएका हुन । चालू अधिवेशनमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ लाई पारित गरी प्रतिनिधिसभामा पठाएको छ भने प्रतिनिधिसभामा उत्पत्ति भएको ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ दुवै सभाबाट पारित भई प्रमाणीकरणसमेत भएको छ ।

याे अधिवेशनमा ‘नेपाल विश्वविद्यालय विधेयक २०७९’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७७’, दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको छ भने ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’, ‘विनियोजन विधेयक, २०८१’, आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, र ‘भन्सार महसुल विधेयक, २०८१’ दुवै सभाबाट पारित भई प्रमाणीकरण भएका छन् ।

यसै अवधिमा आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल भएको छ । यस अधिवेशन अवधिमा राष्ट्रियसभामा दर्ता भएका ‘मिडिया काउन्सिल विधेयक २०८०’, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१’, ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ र ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।