|  

बाल हिंसाको आरोपित सांसद शर्मालाई पक्राउ गर्न अदालतले दिएनन अनुमति

३१ भदौ, काठमाडौं । बाल हिंसाको आरोप लागेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद शर्मालाई बाल हिंसाको आरोप लगाइरहेका छन् । काठमाडौं प्रहरी परिसरले रेखा शर्मालाई अनुसन्धान गर्न भन्दै दुईपटक जिल्ला अदालत काठमाडौं पुगेको थियो ।तर, पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मनासिब आधार र कारण नदेखिएको’ भन्दै अदालतले पक्राउ पुर्जी जारी गर्न नमानेको भनिएको छ । बालेनले शर्मालाई एमालेले जोगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को आलोचना गर्दै आएका छन । काठमाडौं महानगरपालिकाले शर्माको घरमा काम गर्न राखिएकी बालिकालाई श्रममा लगाइएको र हिंसा भइरहेको दाबी गर्दै उद्धार गरेको थियो । त्यसपछि महानगरविरुद्ध बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अदालतले उक्त रिट खारेज गरेको थियो । त्यतिबेलै शर्मा सम्भावित पक्राउविरुद्ध निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन । पाटन उच्च अदालतले निषेधाज्ञा खारेज गरेपछि अनुसन्धानको दायरामा ल्याउन पार्टीले जोगाएको बालेनले आरोप लगाउँदै आएका छन ।

यता, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सन्देश श्रेष्ठले पनि अदालतले दुईपटक माग्दा पनि पक्राउ पुर्जी नदिएको पुष्टि गरका छन् ।