|  

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशसभा खारेज गर्न रविको प्रस्ताव

०२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीको प्रस्ताव गरेको छ ।

प्रमुख दलहरूले संविधान संशोधनको विषय उठाइरहेका बेला काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणाको प्रस्ताव गरेका हुन । रविले राष्ट्रपति गैरदलीय रूपमा स्वतन्त्रबाट गर्न पनि प्रस्ताव गरेका छन । रविले राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुनुपर्ने प्रस्ताव पनि गरेका छन । 

यतिमात्रै नभएर रविले विज्ञहरूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव पनि अगाडि सारेका छन । प्रदेशसभा खारेज गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र जम्मा ५ जना मन्त्रीमात्रै राख्नुपर्ने उनको प्रस्ताव छ । यसका साथसाथै सभापति लामिछानेले ७ सय ५३ वटा स्थानीय तहलाई घटाएर ५०० मा झार्नुपर्ने बताए ।