|  

केपी ओलीले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरे : दुर्गा प्रसाईं

२ असोज, काठमाडौं । व्यवस्था परिवर्तन गर्न भन्दै आन्दोलन गरिरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका छन् । 

बुधवार साँझ आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले बिहीवारका लागि सर्लाहीका तय गरिएको कार्यक्रमबाट डराएर सरकारले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका हुन् । 

‘भोलि संविधान दिवसको दिन सर्लाहीको लालबन्दीमा विशाल कार्यक्रम राखेका थियौं, १ लाख मानिस उपस्थित हुने देखेपछि मलाई पक्राउ पुर्जी जारी गरिएको छ,’ प्रसाईंले भने, ‘प्रचण्डको नेतृत्वमा सरकार रहुन्जेल मलाई पक्राउ पुर्जी जारी भएन । केपी ओलीको कार्यकाल राणाकालभन्दा खतरा भयो । बोल्न नपाइने, यही हो लोकतन्त्र ?’ 

प्रहरीको साइबर व्युरोमा परेको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले बुधवार प्रसाईंलाई पक्राउ पुर्जी जारी गरेको थियो । ‘मैले कसैको नाम लिएर बोलेको छैन, प्रतिशोध साँध्न मात्र पक्राउ गर्न लागिएको हो ।’ उनले भने ।  

प्रसाईंले आफू गणतन्त्रका लागि सैनिक हिरासतमा बसेको भन्दै प्रहरीसँग नडराउने बताए । ‘म डराउँदिन, बलात्कारको आरोप लागेर लगेको भए बेइज्जत हुन्थ्यो । प्रहरीले कति दिन थुन्छ मलाई, बढीमा २४ दिन होइन ? त्यसपछि म आइहाल्छु,’ प्रसाईंले भने ।