|  

आजदेखि धरहरा निःशुल्क चढ्न पाइने

३ असोज, काठमाडौं ।  आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन ।

सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्न अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ । आजका लागि धरहरा छेउको आकाशे पुलमुनि रहने काउन्टरबाट टिकट लिने व्यवस्था मिलाइएको छ । भोलिदेखि वेबसाइटबाटै टिकट बुक गर्न सकिने गरी तयारी भइरहेको छ ।

एक दिनमा बढीमा पाँच सय जनाले निःशुल्क धहरार चढ्न पाउने छन् । एक पटकमा आठदेखि १० जनासम्मले पालैपालो धरहरा चढ्न पाउने व्यवस्था मिलाइएको छ । धरहराको माथि बार्दलीबाट बढीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

गएको भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैअनुसार शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले आज बिहान साढे १० बजेदेखि धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।