०३ असोज, काठमाडौं । नेपालमा जनसंख्याको अनुपातका आधारमा टेलिफोन सेवा लिनेको संख्या १ सय २४ प्रतिशतभन्दा बढी पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चारसूचक सम्बन्धी पछिल्लो तथ्यांकअनुसार भ्वाइस सर्भिसको बजारमा नेपाल टेलिकमको बजार हिस्सा करिब ६३ प्रतिशत छ । एनसेलको बजार हिस्सा ३६ प्रतिशत छ । दूरसञ्चार क्षेत्रको नियामक निकायको तथ्यांकअनुसार भ्वाइस कल सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ६३.५५ प्रतिशत छ । एनसेलको बजार हिस्सा ३६.४५ प्रतिशत छ ।
नेपाल टेलिकमको भ्वाइस कल सेवा अथवा सिम लिनेको संख्या २ करोड ३० लाख २० हजार ५०७ छ । एनसेलको सिम लिने ग्राहकको संख्या एक करोड ३२ लाख ३ हजार ३ सय ५१ छ । फिक्स्डतर्फ भ्वाइस सेवा लिनेको संख्या ५ लाख ९६ हजार ४७८ र जीएमपीसीएस सेवा लिनेको संख्या २ हजार ९ सय ८६ छ । जनसंख्याको अनुपातमा १२४.२२ प्रतिशत भ्वाइस टेलिफोन सेवा लिइएको प्राधिकरणको तथ्यांकले देखाएको छ । एकै व्यक्तिले दुईवटा सिम बोक्ने र पूर्णरूपमा अद्यावधिक तथ्यांक नभएका कारण संख्या बढी देखिने गरेको प्राधिकरणको भनाइ छ ।