|  

देउवा रिसाए दुई तिहाइको सरकार ढल्छः रवि लामिछाने

०३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाए दुई तिहाइको सरकार ढल्ने दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा रास्वपाले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै लामिछानेले यस्तो दाबी गरेका हुन् । उनले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गर्दै सरकारको प्राथमिकता अझै स्पष्ट नभएको बताए । उनले जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाँदा जनतामा निराशा छाएको बताए ।

उनले राजनीतिक दलहरू नै सुधारको आधार भएको र योग्य प्रतिनिधि पठाउन सके मात्र परिवर्तन सम्भव हुने धारणा राखे । लामिछानेले निर्वाचन प्रणाली महँगो भएको र यसबाट संसदमा थोरै मात्र इमानदार प्रतिनिधिहरू आउने उल्लेख गरे । उनले संविधान संशोधनको बहानामा सत्ताको आयु लम्ब्याउने प्रयास भइरहेको आशंका पनि व्यक्त गरे ।