|  

एक खेलअगावै पुलिस काभा महिला च्याम्पियनसिपको सेमिफाइनलमा

०४ असोज, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एक खेलअगावै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिस क्लब लिग चरणको आफ्नो अन्तिम खेल अगावै सेमिफाइनल पुगेको हो । पुलिस क्लबले ४ खेल जितेर ११ अंक जोडिसकेको छ । बिहीबार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा हराएको थियो । पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजिकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को सेटमा हराएको थियो ।

नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको हो । पुलिसले आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिससँग खेल्नेछ ।