|  

मधेशको अर्थ समितिको सभापतिका लागि आज चुनाव हुँदै

०४ असोज, काठमाडौं । मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज चुनाव हुँदैछ ।

मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ ।

जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरूबाट मनोनयन दर्ता गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिनकुमार ठाकुरले जानकारी दिए । साँझ साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए । निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ ।