|  

शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गयोः प्रचण्ड

०४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् ।

जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताएका हुन् । उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेन्डा हुनसक्ने जिकिर गरे ।

आफूहरू केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रूपमा यसलाई लैजान सकिने पनि उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा अघि सार्न आवश्यक हुने भन्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताए । उनले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।