|  

दरबारमार्गमा ओलीविरुद्ध नाराबाजी गर्नेलाई आजै छाड्ने प्रहरीको तयारी

०४ असोज, काठमाडौं । बिहीबार दरबारमार्गमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै काठमाडौंका मेयर बालेन साहको पक्षमा हुटिङ गर्दा पक्राउ परेका एक व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएअनुसार बिहीबार पक्राउ परेका चार जनामध्ये एक जना ज्यान मुद्दामा फरार अभियुक्त रहेको पाइएको हो ।पक्राउ परेका व्यक्ति बझाङ मष्ट गाउँपालिका-३ स्थायी घर भई माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्का हुन । उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो । तीन महिना अगाडि उनले त्रिचन्द्र क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई ‘नक’ प्रहार गरी घाइते बनाएका थिए । उक्त घटनापछि फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थप गर्ने तयारी गरिरहेको थियो ।

खड्काविरूद्ध ज्यान मार्ने उद्योगकै अर्को घटना पनि रहेको खुलेको छ । यद्यपि, उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ । बिहीबारको उक्त घटनामा पक्राउ परेकामध्ये तीन जनालाई आजै छाड्ने प्रहरीको तयारी छ ।