|  

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउन अध्यक्ष ढकालको जोड

०४ असोज, काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको जिकिर गरेका छन् ।

आज ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको बताएका हुन् । उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने धारणा ब्यक्त गरे । पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे । उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे ।

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गरे । तीन तहकै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।