|  

युवतीलाई निःशुल्क लोकसेवा तयारी कक्षा

५ असोज, काठमाडौं । कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश युवती लाखौं खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा शुरू गरेको छ ।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा शुरू गरेको हो । युवतीलाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको बताबइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छवटै स्थानीय तहका ३३ जना युवती सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका युवती तयारी कक्षामा सहभागी भएका हुन् ।