|  

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

०५ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन यहि असोज १० गतेदेखि हुँदैछ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित २ सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ-आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।

सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ । सिंहका अनुसार सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने तय भएको छ ।