|  

संसद् अवरोधलाई जारी राख्न प्रचण्डको निर्देशन

०५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन अवरोधलाई जारी राख्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हत्या र हिंसा शब्द संविधान र शान्ति सम्झौताको विपरित भएकाले सदन अवरोध जारी राख्ने बताएका हुन् । उनले भने, ‘हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ। र हामी जवरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ, हामी छोड्दैनौ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन। हामीले यो कुरा प्रतिनिधि सभामा पनि जवरजस्त उठाएका छौँ। प्रतिनिधि सभामा नहुने साथीहरूले सडकबाट उठाइदिन प¥यो ।’

उनले प्रतिनिधि सभामा सङ्ख्यामा कमजोर भएपनि विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरूको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए ।