|  

सर्वोच्चको युट्युब च्यानल ह्याक

०५ भदौ, काठमाडौं । भारतको सर्वोच्च अदालतको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ ।

भारतीय सुप्रिम कोर्टको सुनुवाइहरु युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिन्छ। रिपोर्टका अनुसार ह्याकरहरूले सर्वोच्च अदालतको युट्युब च्यानलमा अपलोड गरिएका भिडियोहरू पनि निजी बनाएका छन । च्यानलमा ‘एक्सआरपी’ नामक क्रिप्टोकरेन्सीको भिडियो लाइभ गरिएको बताइएको छ । यस विषयमा सर्वोच्च अदालतका अधिकारीहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

घटना शुक्रबार बिहान सार्वजनिक भएको हो । जानकारीका अनुसार सर्वोच्च अदालतको आईटी टोलीले सरकारी निकाय एनआइसीसँग यस विषयलाई सम्बोधन गर्न मद्दत मागेको छ । युट्युब च्यानल ह्याक भएको यो पहिलो घटना होइन । ह्याकरहरूले यसअघि पनि विश्वभरका सेलिब्रेटीहरूलाई निशाना बनाउँदै आएका छन् र संस्थाहरुलाई पनि लक्षित गरेको छ ।

अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) को रिपोर्ट अनुसार गत वर्ष क्रिप्टोकरेन्सीसँग सम्बन्धित ठगीका घटनामा ४५ प्रतिशतले वृद्धि भएको छ । यी ठगीका कारण व्यापारीहरूले ५.६ अर्ब डलर भन्दा बढी घाटा बेहोर्नुपरेको थियो ।