|  

कांग्रेस–एमालेको सत्ता सहकार्यले सकारात्मक सन्देश दिएको छ : देउवा

५ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने- 'एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई । तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ ।'