|  

मुलुकमा बेइमानहरु बढ्दै गए : सभापति पोखरेल

५ असोज, काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताएका छन्।

शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फर्छ्यौट सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन्।

उनले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको जनाए। अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण, कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको उनले धारणा राखे।

उनले भने “अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको छ। प्रमाण छ, कागज छन्, कानून छ। स्पष्ट छ। टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ। श्रम परीक्षण गर्न बेरुजुको समितिले निर्णय गर्न पर्दैन।”

उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्नेमा जोड दिए।

“कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ। ठेक्का लगाउँछ। तर सूचना निकाल्ने, टेण्डर स्वीकृत गर्ने, मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ। यो बेइमानी हो। सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको कसरी हुन्छ। देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्छ।” उनले भने।

नेपाली कांग्रेसका सांसद राजन केसीले पनि सरकारी निकायका प्रमुख र जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीको कारण बेरुजु आउने गरेको सुनाए।

उनले निर्माण व्यवसायीहरुको कारण सरकारी निकायहरुमा बेरुजु नपाउने उल्लेख गरे। सरकारी निकायका प्रमुखले नियम कानून कडाइ नगर्ने हो भने बेरुजु कम हुने उनले बताए।