|  

अब पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्छ : शशांक कोइराला

५ असोज, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

शनिबार धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै कोइरालाले अब युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

‘शेरबहादुरजी सदावहार यहाँ पार्टी सभापति हुनुहुन्न। अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुर्‍यो। उनीहरुलाई अगाडि बढाउनुपर्‍यो,’ उनले भने।

६० प्रतिशत नेताहरू ४० वर्षमुनिका रहेपनि नेतृत्व र जिम्मेवारी बुढाले मात्रै पाउने अवस्था सुधार्नुपर्न उनले बताए।  

‘तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन। सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरेँ। हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं। जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन्। युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन्। मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ?,’ उनले भने।   

विपी कोईरालाले राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको जिम्मेवारी दिएकोबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने कोइरालाको भनाइ थियो।

‘विपी कोइरालालाई पुजेर मात्रै हुँदैन। उहाँको आर्दश बुझौं। उहाँको पदचिन्हमा हिँडौं। नेपाली काँग्रेस यत्रो बलियो शक्ति छ।तैपनि हामीले जहिले पनि अल्पमतमा हुने, अथवा गठबन्धनको सरकार हुने। हामीले आफ्नो खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनु पर्छ। त्यो दृष्टि राख्नुपर्‍यो,’ उनले भने।