|  

मिथिला क्षेत्रमा जितिया पर्वको तयारी सुरु

६ असोज, काठमाडौं । मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु भएको छ ।

पितृपक्ष अर्थात् (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने मुख्य व्रत यसपालि पर्सि (मंगलबार) परेको छ । अष्टमी तिथि टेकिएकै दिन गरिने व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमीको एक घडी कटाएर मात्र समापन गरिन्छ । यसपालिको व्रत अवधि झन्डै ४० घण्टाको हुने र त्यसैअनुसार तयारीमा रहेको बताइएको छ ।

यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने प्रचलन रहेको छ । मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भएपनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष सुरु हुनासाथै गर्न थालिन्छ ।

जितिया पर्वको ‘ओगटन’ मा दही, चिउरा खाने चलन छ । निराहार व्रत सुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ ।