|  

कोरियाले दिएको गाईका बाछी स्थानीयलाई उपहार

६ असोज, काठमाडौं । करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ ।

शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो ।

परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो ।

जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए ।यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो ।