०६ असोज, काठमाडौं । रामेछापमा बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको मृत्यु भएको छ ।
सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका-४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका-५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आज दिउँसो दुर्घटना भएको थियो । मन्थली नगरपालिका-४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक वडा सदस्य नेपाली २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन ।
दुर्घटनामा परी मन्थली नगरपालिका-४ सालुकी ३४ वर्षीय सीता नेपाली, २५ वर्षीय सुजिता रसाइली, ६९ वर्षीय दिलीपकुमार बरुवाल, ४२ वर्षीय गुणमाया थापामगर, २५ वर्षीया सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका छन् । घाइतेमध्ये चालक गुणकुमार थापामगर र दिलीपकुमार बरुवालको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ ।