|  

श्रीलङकामा राष्ट्रपतीय चुनावः दोस्रो चरणको मतगणना जारी

०६ असोज, काठमाडौं । श्रीलङकामा भएको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतगणना जारी छ ।

श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपतीय चुनावमा दोस्रो चरणको मतगणना भइरहेको हो । अहिलेसम्म कुनै पनि उम्मेदवारले जीतका लागि आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छैनन । श्रीलङ्काको निर्वाचन आयोगले अब मतदाताको दोस्रो र तेस्रो छनौटमा मतगणना गर्नेछ । चुनावमा नागरिकलाई आफ्नो प्राथमिकताअनुसार तीन जना उम्मेदवार छनौट गर्न आग्रह गरिएको थियो । निर्वाचन आयोगले एक पत्रकार सम्मेलनमा गरेर अब अनुराकुमार दिसानायके र साजिथ प्रेमदासाबाहेक अरु सबै उम्मेदवारहरू दौडबाट बाहिरिएको बताएको छ ।

वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले शुरुदेखि अग्रता लिइरहेका छन् । धेरै सञ्चारमाध्यम र एक्जिट पोलले दिसानायकेले नै यो चुनाव जित्ने अनुमान गरेका छन । वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे यसपटक पनि पराजित भएका छन । विक्रमासिङ्घे यसअघि दुई पटक राष्ट्रपतिमा पराजित भइसकेका छन् । आर्थिक सङ्कटका कारण देशव्यापी प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाडेर भागेपछि विक्रमासिङ्घ संसद्बाट कार्यवाहक राष्ट्रपति बनेका हुन् ।