|  

दशैँ तिहार नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप

७ असोज, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रहेको छ ।साउनमा छ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ ।

दशैँ र तिहारपर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरू भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्छ ।पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित छ ।

यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् । पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ ।