|  

सङ्घीयता कार्यान्वयनका लागि कानून अभावः सभामुख

०७ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल शुरू भइसकेको जानकारी दिएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारी आवश्यक रहेको बताए । उनले सङ्घीयता कार्यान्वयनका लागि कानून अभाव रहेको पनि बताए ।

सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने धारणा राखे । उनले भर्खरै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गो लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदनसमेत सरकारलाई बुझाएकाले संसद्ले प्रतिकूलताका बीच समयमा काम सम्पन्न गरेको बताए ।