|  

दुई महिनामा काठमाण्डौका १ सय भन्दा बढी मन्दिर र हिटीको सफाइ

०७ असोज, काठमाडौं । काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना-ठूला मन्दिरको सरसफाइ गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत १ सय १४ मन्दिर, १ सय ११ हिटी, १० कुवा र ६ पोखरीको सफाइ गरिएको जानकारी दिए । सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहर भएका र मैला देखिएका ठाउँहरूको सफाइ गर्ने गरिएको महानगरले जनाएको छ ।

यस्तै महानगरले बितेका २ महिनामा ४ वटा पोखरीको पुनरुत्थान र सौन्दर्यीकरण गरिएको महानगरले जनाएको छ । पुनरुत्थान र सौन्दर्यीकरणका लागि झन्डै ३२ लाख रुपैयाँ खर्च भएको छ । महानगरका अनुसार ७ वटा ठाउँका ढुङ्गेधाराहरू मर्मत तथा पुनर्निर्माणका लागि सम्झौता चरणमा छन । यस्तै नापी नक्सा तथा मालपोत स्रेस्ताबाट धाराको क्षेत्रफल यकिन गरेर साविक क्षेत्रफलबाट मिचिएको जग्गा फिर्ता लिने प्रयास भइरहेको महानगरले जनाएको छ ।

ऐतिहासिक लुहिटी (सुन्धारा) केन्द्र सरकारको कार्यक्रमअन्तर्गत परेका कारण प्रक्रिया अघि बढाउन नसकेको महानगरको भनाइ छ ।