|  

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा सञ्चालन गछौँः खेलकुदमन्त्री चौधरी

०७ असोज, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म हुने बताएका छन् ।

सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा आज जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन । उनले आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने बताए । उक्त प्रतियोगिताको तयारीमा जुट्न मन्त्री चौधरीले खेलाडीहरूलाई आग्रह गरे । कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा अत्याधिक जाडो हुने भएकाले उक्त प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको उनले स्पष्ट पारे ।

मन्त्री चौधरीले भने, ‘चिसोको समयमा बसोबासको समेत समस्या हुन्छ, यसलाई ध्यानमा राख्दै फागुनमा चिसो कम हुने भएकाले त्यही बेला राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ ।’ अहिलेकै अवस्थामा सो प्रतियोगिता गर्ने अवस्था नरहेको उनको भनाइ थियो । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा आयोजना गर्ने घोषण गरेको थियो ।