|  

विराज भट्टको फिल्म ‘१२ गाउँ’ को दोस्रो गीत सार्वजनिक

०७ असोज, काठमाडौं । विराज भट्टको फिल्म ‘१२ गाउँ’ को ‘कसो कसो’ बोलको गीत सार्वजनिक भएको छ ।

सुवास चन्द्र भुषालको शब्द रचना रहेको गीतमा निरज सिंहको संगीत र सुगम पोखरेल र सदीक्षा कट्टेलको स्वर रहेको छ । प्रेमिल गीतमा चलचित्रका मुख्य दुई कलाकार समिर भट्ट र शोनु चन्द्रपाल फिचर्ड छन् । प्रेममा परेका युवायुतीको अभिव्यक्ति गीतले उजागर गरेको छ । भिडियोमा समिर र शोनुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

समीरको अपोजिटमा रहेकी शोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री हुन । यो उनको डेव्यु सिनेमा हो । ‘१२ गाउँ’ बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन । सिनेमामा विराज भट्ट, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।