|  

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

८ असोज, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

क्यालिफोर्नियामा करिब एक लाख नेपाली छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरेको थियो ।

प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाए।