|  

सहकारी ठगी प्रकरणः छविलाल जोशीसँग आज पनि सोधपुछ गरिने

८ असोज, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी रहनेछ ।

कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान थालेको छ । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा लगिएको हो । उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद लिइएको छ । सोमबार जोशीमाथि प्रारम्भिक बयान लिइएको थियो । आज पनि बयान जारी रहने उनले बताए ।

प्रारम्भिक बयानमा जोशीले सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् । आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ ।