|  

जितिया पर्वः आजदेखि मिथिलाञ्चलमा निर्जल उपवास सुरु

८ असोज, काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सुरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।

सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ । तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज भोलि दिनभरि उपवास बसेर बुधबार साँझ व्रत समापन गरिने परम्परा रहेको छ ।

सयौं बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको छ ।