|  

विपिन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री राणाको आग्रह

८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री राणाले असंलग्न राष्ट्रहरुको सङ्गठन (नाम)को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् ।

उनले विपिन जोशीको स्वागतका लागि नेपाल र नेपाली व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायसँग सहयोगको आग्रह गरिन् ।

गत अक्टोबर ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए ।