|  

गर्मी बढेपछि महोत्तरीका अधिकांश विद्यालय बन्द

०८ असोज, काठमाडौं । विगत एक सातादेखि गर्मी बढेपछि महोत्तरीका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएको छ ।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हुन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु आजदेखि लागू हुनेगरी ४ दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले जानकारी दिए ।

मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए । महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ । बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी आजदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गरेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।

गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरुको चाप बढेको छ।