|  

झापाका डाध्यक्ष गोपाल ओली ८० हजार घुस लिँदालिँदै पक्राउ

८ असोज, काठमाडौं ।  झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन्।

झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो वडाध्यक्ष ओली पक्राउ परेका हुन्।

घुस रकम लिँदै गर्दा उनलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिएबापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए। पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन्।

अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए। उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको बताए।