|  

बससेवाबाट अनलाइन टिकट बुकिङको सेवा

०८ असोज, काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।

अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको बससेवाले जानकारी दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णय भएपछि यसै सातादेखि अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने जनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्षमा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको आगामी बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताए । दशैं आउन धेरै दिन बाँकी नभएकाले केही दिनमा नै टिकट बुकिङ सुरु हुने उनको भनाई छ । विगतका वर्षमा पनि दसैँको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन । बससेवाको वेबसाइट र मोबाइल एपबाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बससेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिन्छ ।