|  

प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा नेपालको प्रगतिः आरजु

०८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा.राणाले न्युयोर्कमा महिला राजनीतिक नेताहरूको उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । उनले विगत सम्झिँदा निकै कहालीलाग्दो अवस्था भए पनि पछिल्ला वर्षहरूमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको जिकिर गरिन । नेपालको वर्तमान संविधानले महिलाको प्रजनन अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको भन्दै संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्यको नेपाल पनि एक देश भएको बताइन । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानूनी प्रावधान हो भन्ने आफुलाई लागेको उनले बताइन ।

विगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौं महिलाको ज्यान जाने गरेको, उनीहरू कानूनी कारबाहीको भागिदार बन्नुपरेको र कैयौं महिला जेल पर्ने गरेको प्रसङ्ग पनि उनले सुनाइन । महिलाहरूको यो अवस्थाविरुद्ध आफूहरूले विगत लामो समयदेखि संघर्ष गरेको अनुभव पनि उनले सुनाइन । विकसित राष्ट्रहरूका तुलनामा नेपालको कूल ग्राहस्थ्य उत्पादन अत्यन्तै थोरै भए पनि मानव विकास सूचकांकमा भने नेपालले प्रगति गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले महिलाको प्रजनन अधिकार, सुरक्षित मातृत्व र अन्य धेरै यस्तै महिला अधिकारका कारण यो सम्भव भएको धारणा पनि राखिन् ।