|  

असोज १२ बाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय

०८ असोज, काठमाडौं । दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ ।

आज यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ । जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र उनीहरुको गुनासा सुन्ने छन् ।

गत वर्ष भने घटस्थापनाको ६ दिन अघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । योपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैंकालागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए । दसैंका बेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मतसम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका छन् । सडक विभागकाअनुसार अहिले सडक मर्मतको काम भइरहेको छ ।