|  

बाढी, पहिराे र डुवानः ३० जनाको मृत्यु, ११ बेपत्ता, उपत्यकामा बढी जनधनको क्षति

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३० जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् ।

काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १ हजार ९ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

१ सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वर्टा याफ्टिङ बोट परिचालन गरेको छ । सशस्त्रको टोलीले ७ सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । काठमाडौँमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई-दुई, झापा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।