|  

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन

१२ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ । 

केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकले ती सेवा निरन्तरताको सम्बन्धमा कुनै समस्या भएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकामा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन दिएको छ । 

मन्त्रालयले विपद् प्रतिकार्य, उद्धार तथा राहतका सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णयसम्बन्धी विषयवस्तु प्रभावकारी र नियमित रुपमा प्रचारप्रसार गरी जनतालाई समयमै सुसूचित गर्ने-गराउने निर्णयसमेत गरेको छ ।