|  

पहिरोले एम्बुलेन्स बीचमै रोकिँदा २ बिरामीको मृत्यु, तीन विरामीको अवस्था नाजुक

१३ असोज, काठमाडौं । सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ आउँदै गरेका एम्बुलेन्स बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको ज्यान गएको छ ।

सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो । बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ ।

बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो । बा २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत लगिएको भुजेलको शरीरमा रगत कमी र दम बढेपछि सिन्धुली अस्पतालबाट थप उपचारका लागि काठमाडौं ल्याइदै थियो । सिंजाली भने मृर्गौला पीडित थिए । सिजाँलीलाई महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो । बाढी र पहिरोका कारण एम्बुलेन्सहरू बीचबाटोमै फसेपछि बिरामीको मृत्यु हुँदा आफन्तहरू समेत अफ्ठेरोमा परेका छन् ।

बिरामीको समयमा उपचार हुन नसकेर मृत्यु भएको र मृ्त्यु भएपछि पनि समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन् । अन्य पाँच वटा एम्बुलेन्सहरु सँगै फसेका छन् । सर्लाही, महोत्तरी, सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ आएका एम्बुलेन्सहरू बीचबाटोमै तीनदिनदेखि फस्दा अन्य बिरामीहरूको अवस्थासमेत नाजुक बन्दै गएको छ।