|  

काठमाडौंमा ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि, बिक्री वितरणमा रोक

१३ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि त्यसको विक्री वितरणमा रोक लगाएको छ ।

विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । 
यस्तै कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमुना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमुना सङ्कलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । 

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।