विपिन देव ।
१४ असाेज, काठमाडाैं । एक्काइसौं शताब्दीमा गान्धीको दर्शनको प्रभाव विश्वव्यापी बन्दै गएको छ ।
बीसौं शताब्दीमा गान्धी दर्शनको प्रभावले कतिपय देशमा शान्तिपूर्ण क्रान्ति नै सम्भव भयो । दक्षिण अफ्रिकी गान्धीवादी नेता नेल्सन मण्डेलाले काला जातिका लागि अधिकार सुनिश्चित गर्न सके । अमेरिकामा पनि मार्टिन लुथर किंग गान्धीबाट प्रभावित थिए ।नेपालको प्रजातान्त्रिक आन्दोलनमा सर्वाधिक प्रभाव गान्धी दर्शनको रहेको छ । नेपालका मूर्धन्य राजनेताहरूको व्यक्तित्व र कृतित्वमा गान्धीवादको गहिरो छाप रहेको छ । वीपी कोइरालाको सुन्दरीजलको आमरण अनसन, राष्ट्रिय मेलमिलाप नीतिको प्रयोग, नेपाली काङ्ग्रेसको सत्याग्रह, गणेशमानजीको प्रधानमन्त्री पदको अस्वीकार्यता, किशुनजीको सादगी जीवन वास्तवमा गान्धीवादको नै प्रयोग थियो । गान्धीवादको प्रयोग नेपाली काङ्ग्रेसका नेताहरू रामनारायण मिश्र, रामेश्वर प्रसाद सिंह, भीम वहादुर तामाङ्ग, महेन्द्र नारायण निधिले समेत आफ्नो जीवनमा प्रयोग गरेका थिए ।
पुष्पलालको जीवशैली र मनमोहन अधिकारीको व्यक्तिगत जीवनमा गान्धीवादको गहिरो प्रभाव थियो । नेपालका हरेक राजनीतिक पार्टीले संघर्षको यात्रामा हतियार उठाए तापनि गान्धीवादबाट सम्मोहित हुँदै अहिंसालाई आत्मसात गरेको देखिन्छ । नेपाली काङ्ग्रेसले २००७ सालमा बन्दुक उठायो, कम्यूनिष्टहरू झापा काण्ड गरे, माओवादीले हिंसात्मक आन्दोलनलाई आत्मसात गरे । मधेश आन्दोलनले समेत तोडफोडको आन्दोलनलाई अगाडि बढायो तर निष्कर्षमा यी सबै राजनैतिक शक्तिहरूले हिंसात्मक राजनीतिलाई परित्याग गर्दै गान्धीको अहिंसात्मक सूत्रलाई मार्गचित्र बनाएका छन् । वास्तवमा वर्तमान परिवेशमा गान्धीवादको अपरिहार्यता सबभन्दा अघिक रहेको छ । गान्धीवाद भन्नाले सम्वाद र सूचनाको राजनीति हो ।
संसारमा सबभन्दा पहिले बहुभाषिक पत्रिका सुरु गर्ने गान्धी नै थिए । सन् १९०३ मा दक्षिण अफ्रिकामा गान्धीले तमिल, गुजराती, हिन्दी र अङ्ग्रेजी भाषामा “योग इण्डिया” भन्ने पत्रिकाको थालनी गरेका थिए । जीवनको महत्वपूर्ण र गम्भीर मुद्दालाई सम्वोधन गर्न गान्धीले ४० वर्ष सम्पादक भई काम गरे । अर्थात् जनताले उठाएका प्रश्नहरूलाई जवाफ दिन गान्धीले पत्र पत्रिको प्रचूर मात्रामा प्रयोग गर्थे । सरकार र सत्तालाई चूनौती दिन विमर्शलाई अगाडि बढाउथे । वर्तमान अवस्थामा नेपाली राजनीतिमा जनता र नेता विच संवादहीनता बढिरहेको अवस्था छ । संचार, सत्ता र शक्तिको प्रभावमा आफ्नो भूमिका र गरिमालाई स्खलित गरिरहेको अवस्था छ । राजनैतिक संगठन, नेतृत्व र सरोकावाला विच संवादको वातावरण निर्माण गर्न गान्धीको सूत्र उपयोगी हुनेछ ।
गान्धीको अपरिग्रहको अवधारणा प्रजातन्त्रलाई स्वस्थ्य बनाउन अति उपयोगी हुनेछ । अपरिग्रह भन्नाले एक किसिमको भौतिक त्याग हो । सत्ताको राजनीति, विचौलियाको गिगविगी, महंगी, चूुनाव प्रणाली, वॉडफाडको कार्यनीतिले गर्दा प्रजातन्त्र घायल भएको छ । पजेरो र प्रायडोको सवारी, गगन मार्गको यात्रा, पॉचतारे होटलमा कार्यक्रम र भाइ–भतिजावादको राजनीति नेपाली जनतालाई पाच्य भएको छैन । नेपाली जनताले आफ्नो नेतालाई आपूm जस्तै साधारण हेर्न खोजको छ । नेपाली राजनीतिमा दरवार त्याग गरेर व्यक्ति महान हुने गर्दछ । गणेशमानजी संभ्रान्त परिवारमा जन्मे तापनि संर्घषको राजनीतिले साधारण जीवनशैली विताए, नेपाली मनमण्डलमा ठुलो सम्मान र आदर पाए । तर अधिकांश नेताहरू झोपडीलाई त्याग गर्दै दरवार छिर्ने प्रवृतिले गर्दा जनताहरूले सम्मान दिएका छैनन् ।
अङ्कगणितीय राजनीतिले सत्तारोहण गरे तापनि जनताको दिल दिमागमा यी प्रवृतिमा नेताहरूलाई जनताले वास्ता गरेको छैनन । गान्धी जनताको अवस्थासंग तादम्यता राख्न लगौटी लगाए । सादगी र सदाशायताले नै गर्दा नेतृत्वले आदर ग्रहण गर्न सक्दछ भने गान्धीको अनुभूति थियो । तर नेपालको राजनीति भोगवादको भूमरीमा फसेको छ । नेताको लालचलाई हतकडी र कानुनले लगाम लगाउन सक्दैन । दर्शन र चेतले मात्रै परिर्वतन हुन्छ । रस्किन, थोरो र टोलसटायको दर्शनलाई यथार्थ परक बनाउने गान्धी भोगवादको कटु आलोचक थिए । उनले भन्ने गर्थे कि पृथ्वीमा आमाले आफ्ना सम्पूर्ण प्राणीलाई पालन पोषण गर्न सक्दछ तर एक जनासम्मको लोभलाई पूर्ण तृप्त गर्न सक्दैन । आज नेताहरू, उच्च ओहदाका कर्मचारीहरू, विचौलिया खेती गर्ने माफीयाहरू र कालो धन कमाउनेहरू आफ्नो अनियन्त्रित लोभलाई तृप्त गर्न राष्ट्र दोहन गरिरहेका छा ।
गान्धी दर्शन भोगवादको प्रतिवाद हो । वर्तमान परिवेशमा थिचिएका र मिचिएका जनताहरूले सत्याग्रहको प्रयोग गर्नु पर्दछ । अन्याय विरुद्ध सत्याग्रह अहिंसात्मक हतियार हो । सन १९०६ सेप्टेम्बर ११ गान्धीले सत्याग्रहको थालनी दक्षिण अफ्रिकामा गरेका थिए । सत्याग्रहको प्रयोगले संरचनामा परिर्वतन हुन्छ । नेपालको परिवेशमा डा. गोविन्द केसीले गरेको सत्याग्रहले निष्ठा र इमान्दारीको भावनालाई जागृत गरेको छ । सरकारले जनसरोकारको मुद्दालाई सम्वोधन गर्न समय समयमा वाध्य भएको छ । अन्याय विरुद्ध हरेक स्तरमा सत्याग्रहको प्रयोग गर्दै शासन प्रणालीलाई स्वस्थ्य बनाउनु पर्ने टडकारो आवश्यकता देखिन्छ । गान्धीको सबभन्दा ठुलो उपलब्धि राजनीतिमा नारी सहभागीतालाई अगाडि बढाउनु थियो । सन् १९२५ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षमा गान्धीले सरोजनी नाइडुलाई अभिभारा दिएका थिए । सन् १९२५ ताका युरोपमा अधिकांश मुलुकहरूमा नारीहरूले मतदान अधिकार समेत प्राप्त गरेका थिएनन । तर गान्धीले घुम्टोवाट दभित नारी पंक्तिलाई राष्ट्रिय आन्दोलनको माध्यमवाट राष्ट्रिय मुल प्रभावमा अवतरित गराए ।
सामाजिक न्याय गान्धीवादको महत्वपूर्ण आग्रह हो । माओवादीले दलित, जनजाति महिला, मधेशि, आदिवासीका मुद्दाहरू राजनैतिक शक्ति र सत्ता प्राप्त गर्न प‘ूजीकृत गरे तापनि समाधानको वाटो दिन सकेन । गान्धी दर्शन संसारमा छुवाछुत, रंगभेद र वर्गीय विभेदप्रति संवेदनशील रहेको छ । गान्धीले सामाजिक न्याय विना स्वतन्त्रताको कुनै अर्थ नरहेको उद्घोष गरेका थिए । प्रसिद्ध इतिहासकार डा। रामचन्द्र गुहाले आफ्नो पुस्तक “इण्डिया विफोर गान्धी” र इण्डिया आफ्टर गान्धी”मा गान्धीको छुवाछुत विरुद्धको आन्दोलनको वारेमा रोचक चर्चा गरेका छन् । स्वतन्त्रता आन्दोलनको सिलसिलामा गान्धीले राष्ट्रिय आन्दोलनलाईसमेत विराम दिदै छुवाछुत विरुद्ध आन्दोलनलाई धनीभूत रुपमा अगाडि बढाएका थिए ।
गान्धीको सबभन्दा ठुलो उपलब्धि नै नेतृत्वप्रतिको परख थियो । कार्यकतामध्ये नेता चयन गर्नु गान्धीको चमत्कारिता थियो । गुजरातमा बल्लभ भाइ पटेललाई चयन गर्नु, उत्तर प्रदेशमा पण्डित नेहरु, विहारमा राजेन्द्र प्रसाद र जे।पी। कृपलानी, वङ्गालमा सि। आर दास र मौलना अजात जस्ता नेतृत्व विकास गर्नु गान्धीको अद्भूत क्षमता थियो । कटु आलोचकको शिरोधार्यता नै गान्धीवादको प्रयोग हो । अम्वेडकर र श्याम प्रसाद मुखर्जी गान्धी पथवाट सहमत थिएनन् तर डा। अम्वेडकर र डा. श्याम प्रसाद मुखर्जी गान्धीको विशेष अनुरोधमा नै नेहरुको मन्त्री मण्डलमा महत्वपूर्ण ठाउँ पाएका थिए । नेपालको राजनीतिमा गान्धी सूत्रको प्रयोग आवश्यक देखिएको छ । सत्याग्रह, सादगी, स्वच्छता, अपरिग्रह, अहिंसा र सत्य नै जीवन आधारहरू हुन । जसलाई राजनैतिक र सार्वजनिक जीवनमा प्रयोग गर्नु पर्ने आवश्यकता देखिन्छ ।