१५ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले आज यस्तो आदेश दिएको हो । प्रसाईंलाई साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो । असोज २ मै पक्राउ पुर्जी जारी भएपनि प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका थिए । तर दर्गाले भने आफूलाई सरकारले प्रतिसोध साँध्न पक्राउ गरेको बताएका थिए ।