|  

एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैनः गृहमन्त्री

१५ असोज, काठमाडौं । ललितपुरको नख्खु खोलामा गत शनिबार आएको बाढीका क्रममा छाप्रोसहित बगेका तीन नागरिकको उद्धारमा सरकारले सक्दो कोसिस गरेको गृहमन्त्री रमेश लेखकले बताएका छन ।

आज दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन । नख्खु खोलमा टिनको छाप्रोमा रहेका नागरिकलाई उद्धार गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको उनको दाबी छ । सशस्त्र प्रहरीको बोट पल्टिँदा त्यहाँ उद्धारमा समस्या भएको उनको भनाई छ । उनले त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको आफुलाई बताएको जानकारी दिए । एकजना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको जानकारी दिँदै उनले प्रहरीले सहयोग नगरेको भन्न नमिल्ने बताए ।

गृहमन्त्री लेखकले अहिलेसम्म बाढीपहिरोमा परेका चार हजारभन्दा बढीको सरकारले उद्धार गरेको बताए । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित नहुने उनको तर्क छ । सरकारले अहिले पनि राहत र उद्धारको काममा आफूलाई केन्द्रित गरेको गृहमन्त्री लेखकले बताएका छन् ।