१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्या मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरेका हुन् । उनले यो पीडा सरकारको मात्रै नभएर सिङ्गो समाजको दुःखको विषय भएको बताए । कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएको भन्दै उनले आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइने बताए ।
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिए ।