१५ असोज, काठमाडौं । राहत तथा उद्धारलाई तीव्रता दिन नेपाली कांग्रेसले सरकारलाई अनुरोध गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र नागरिकको उद्धार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको छ । विपदका कारण अवरुद्ध सडकखण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको छ ।
त्यस्तै, बाढीपहिरोबाट अन्नबालीमा क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिँदै नदी कटानलाई रोक्न व्यवस्थित नियन्त्रण कार्य गर्न पनि सरकारसँग माग गरिएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे सांसदहरूलाई जानकारी गराएका थिए ।