१५ असोज, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै २ खेलको सिरिज भारतले क्लिनस्विप गरेको छ । पहिलो खेलमा भारत २८० रनले विजयी भएको थियो ।
लगातारको वर्षाले दुई दिन प्रभावित भएको खेलमा बंगलादेशले दिएको ९५ रनको सामान्य लक्ष्य भारतले पाँचौ दिनको अन्तिम सेसनमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा यशस्वी जैशवालले ५१ र विराट कोहलीले नटआउट २९ रन बनाए । मेहन्दी हसन मिराजले २ र तैजुल इस्लामले एक विकेट लिए पनि हार भने टार्न सकेनन् ।
यसअघि २ विकेटको क्षतिमा २६ रनबाट मंगलबार पाँचौ दिनको खेल थालेको भ्रमणकारी टोली बंगलादेश १४६ रनमा अलआउट भएको थियो । उसका लागि शद्मान इस्लामले अर्धसतक बनाए । मुस्फिकुर रहमानले ३७ रन जोडे । जस्प्रित बुमराह, रविचन्द्रन अश्विन र रविन्द्र जडेजाको नाममा ३-३ विकेट रह्यो ।
पहिलो इनिङ्समा बंगलादेशले २३३ र भारतले २८५ रन बनाएका थिए ।
भारत भ्रमणमा रहेका बंगलादेशले आइतबारदेखि तीन खेलको टी-२० सिरिज खेल्नेछ ।