१६ असोज, काठमाडौं । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो । अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा मध्यमदेखि भारि वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स-साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू-भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गरेको हो ।