१५ असोज, काठमाडौं । बाढी-पहिरो प्रभावित क्षेत्रमा गृह मन्त्रालयका कार्यदल संयोजकहरु खटिएका छन् ।
अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू आज देखि नै प्रभावित क्षेत्रमा खटिएका हुन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव आज खटिएको जानकारी दिएका छन् ।
कार्यदललाई बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको छ । जसअनुसार काठमाडौँमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपलान्चोक वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।
कार्यदललाई अति वर्षका कारण उत्पन्न बाढी-पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।
साथै कार्यदलले दैनिक रूपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ । त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी आजै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए ।